दफा २७
तथ्याङ्कमा पहुँच उपलब्ध गराउने बिधि तथा प्रक्रिया
(१) तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्क प्रकाशन र प्रसार गर्दा सबैको पहुँच हुने गरी गर्नु पर्नेछ।
(२) तथ्याङ्क उत्पादनकर्ताले आफूले उत्पादन गरेका प्रशोधित, अर्धप्रशोधित र सूक्ष्म कोरा तथ्याङ्कमा पहुँच उपलब्ध गराउने विधि सार्वजनिक गर्नु पर्नेछ।
(३) तथ्याङ्क उत्पादनकर्ताले गणना, सर्वेक्षण वा अन्य विधिबाट: उत्पादित तथ्याङ्कको प्रतिवेदन प्रकाशन गरी वितरण गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
(४) प्रत्येक तथ्याङ्क उत्पादनकर्ताले चालु आर्थिक वर्षमा सार्वजनिक गर्ने तथ्याङ्कीय उत्पादनको समयतालिका सहितको अग्रिम प्रकाशन कार्यतालिका प्रत्येक वर्षको साउन मसान्तभित्र तयार गरी सार्वजनिक गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम तथ्याङ्कीय उत्पादन सार्वजनिक गर्दा सोसँग सम्बन्धित मेटाडेटासमेत सार्वजनिक गर्नु पर्नेछ।
स्पष्टीकरण; यस उपनियमको प्रयोजनको लागि "मेटाडेटा" भन्नाले उत्पादित तथ्याङ्कको उत्पादनकर्ता, अवधारणा, परिभाषा, वर्गीकरण, स्रोत र सन्दर्भ समयको साथै तथ्याङ्क सङ्कलन, प्रशोधन र विश्लेषणको विधि तथा प्रक्रिया समेतको विस्तृत बिवरण सम्झनु पर्छ।
(६) यस नियम बमोजिम: तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्कको नतिजा प्रकाशन गर्दा प्रारम्भिक; संशोधित वा अन्तिम कुन नतिजा हो सो स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।